हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण

सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट फोहोर संकलन गरेको हो



 

नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ । 

 

 

सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 


हिमालबाट ३० हजार ३४४ केजी फोहोर संकलन

काठमाडौं, ६ जेठ : नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत चारवटा हिमालबाट ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ ।  सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको हो । 

 

सेनाका अनुसार सगरमाथा र ल्होत्सेबाट ९ हजार ९३२ केजी, कञ्चनजंघाबाट १५ हजार ३७३ केजी र मनास्लुबाट ५ हजार ३९ केजी फोहोर संकलन गरिएको छ । संकलन गरिएको कुल फोहोरमध्ये  ५ हजार २६६ केजी सड्ने तथा कुहिने खालको छ भने २५ हजार ७८ केजी नकुहिने खालको रहेको नेपाली सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

 

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान, २०२२’ सुरु गरिएको सेनाले जनाएको छ । 

 

फोहर संकलनको अलवा हिमालको वेश क्याम्पहरुमा खटिएका सेनाका डाक्टर अधिकृतहरुले आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक व्यक्तिहरुलाई परामर्श दिुनका साथै स्वास्थ्य सेवा प्रदान गरिरहेको पनि बताइएको छ ।  

 

 

 

‘कुनै पनि सञ्चार माध्यमको पहुँच नभएको कञ्चनजंघा आधार शिविर इलाकामा आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक नागरिकहरुलाई घर परिवार तथा आफन्तहरुसँग सम्पर्क गर्नको निमित्त, नेपाली सेनाले, सफा हिमाल अभियान अवधिभरको लागि टेलिफोन सेवा उपलव्ध गराईरहेको व्यहोरा समेत जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ । 
 


२९ बैशाख २०७९, बिहीबार

‘सफा हिमाल अभियान २०२२’ टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण

‘सफा हिमाल अभियान २०२२’  टोलीले सगरमाथा र ल्होत्से हिमालको आरोहण गरेको छ ।  सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि नेपाली सेनाका सदस्यहरुले उक्त हिमालहरु आरोहण गर्ने योजना अनुरुप बिहीबार सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । 

 

यस्तै नेपाली सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आजै ल्होत्से हिमालको सफलतापूर्वक आरोहण सम्पन्न गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


३० चैत्र २०७८, बुधबार

चार हिमाल सफा गर्न सेनाकाे टाेली आधार शिविरमा

नेपाली सेनाले नेतृत्व गरेकाे ‘सफा हिमाल अभियान- २०२२’ काे टाेलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।

 

यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएकाे छ ।

 

‘बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्,’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।


हिमालमा फोहोरको थुप्रो; सफाई गर्न सेनालाई ८ करोड बढी बजेट, कानुन कार्यान्वयन फितलो

विभिन्न प्रतिवेदनअनुसार नेपालमा कुल ३२६ हिमाल छन् । यिनै हिमालबाट उपलब्ध हुने पानी पिउन, सिँचाइका लागि प्रयोग गरेर दुई अर्ब मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । 

 

सन् १९२० बाट हिमाल आरोहण सुरु भएको थियो । यद्यपि सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै हिमाल आरोहणमा पर्वतारोहीको आकर्षण बढ्यो । योसँगै हिमाली क्षेत्रमा फोहोर बढ्दै गयो । 

 

मुस्ताङस्थित हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरमा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लु हिमाल सफाइमा जाने सैनिकलाई नेपाली सेनाले तालिम दिइरहेको छ ।  सेनाको नेतृत्वमा २०७८ चैत २२ बाट सफा हिमाल अभियान–२०२२ शुरु हुने भएको छ । सगरमाथा र ल्होत्से हिमालमा ५५ दिन तथा कञ्चनजंघा र मनास्लुमा ४५ दिन सफाई गरिनेछ  । 

 

उल्लेखित ४ वटा हिमालहरुको बेस क्याम्प भन्दा माथी र बेसक्याम्प वरपरबाट ३५ टन फोहाेर संकलन गर्ने सेनाको योजना छ । 

 

हिमाल सफाई गर्न सेनालाई सरकारले ८ करोड ३० लाख बिनियोजन गरेको छ । तर, सफाइका लागी सेनाले १२ करोड बजेट मागेको छ । सफाई अभियानमा २९ जना सैनिक, ४८ जना शेर्पा र समन्वय समिति र रियरअप्स ग्रुपका १४ जनासहित ९१ जना खटिनेछन् । सफाइमा खटिनेहरुका लागी आवश्यक पर्सनल क्लोदिङ्ग तथा इक्युपमेन्ट खरिद, ह्याण्डलिङ्ग एजेन्सीको खरिद र भत्ता बापत सरकारले ८ करोड  ३० लाख बिनियोजन गरेको हो । सरकारले छुट्याएको रकम बाहेक सेनाको तर्फबाट हुने हवाई साधन र मेडिकल तथा संचारबापत करिब १ करोड ३० लाख सेनाले खर्च गर्न लागेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले जानकारी दिए । हिमाल सफाइमा खटिने सेना र अन्य अभियानकर्मीले आरोहण दस्तुर तिर्नुपर्दैन । 

 

संकलित फोहर काठमाडौं ल्याउनको लागी बजेटको समस्या रहेको हुनाले हिमाल आसपासका स्थानिय निकायलाई हस्तान्तरण गरिने योजना रहेको छ । 


हिमालमा फोहोरको थुप्रो; कानुन कार्यान्वयन फितलो

१७ फाल्गुन २०७८: पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ मा पर्वतारोही दलल पर्वतारोहणसम्बन्धी जानकारी लिनुअघि फोहोरमैला व्यवस्थापनका मन्त्रालयमा धरौटी राख्नुपर्ने, फोहोरमैला व्यवस्थापन गरिएको प्रमाण मन्त्रालयमा पेस गर्नुपर्नेलगायत कुरा उल्लेख छ । त्यसैगरी, सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी)पनि कानुनी व्यवस्था गरिएको छ । यस समितिले पर्वतारोहीले आरोहण गर्दा प्रयोग गर्ने सम्पूर्ण सामानको निरीक्षण गरेर रिपोर्टमा राख्ने र फोहोर संकलन र व्यवस्थापनको काम गर्छ । तर, यसले हेलिकप्टोरबाट ढुवानी भएका सामानको रेकर्ड यसले राख्दैन । त्यस क्षेत्रमा हेलिकोप्टरबाट लगिएका सामानको अभिलेख कुनै पनि निकायले राख्ने सरोकारवालाहरू बताउँछन् । 

 

विज्ञहरूले भएका कानुनको कार्यान्वयन पक्ष फितलो भएको बताउँदै आएका छन् । अभियान्ताहरू पनि हिमाल सफा राख्न राज्यको नीतिमा सुधार हुनुपर्ने बताउँछन् । आरोहणपछि फोहोर नल्याउनेको डिपोजिट जफत हुने एसपीसीसीका बेस म्यानेजर छिरिङ शेर्पा बताउँछन् । तर, उनलाई हेलिकोप्टरबाट हुने ढुवानीबारे जानकारी छैन ।

 

२०औँ शताब्दीको मध्येबाट नेपालका प्रायः हिमाल आरोहणका लागि खुलेका थिए । तत्कालीन समयमा हिमालको धेरै महत्त्व थिएन ।  त्यसैगरी, हिमालमा थुप्रिएको फोहोरका कारण जलवायु परिवर्तनमा असर परी जिविकोपार्जनमा असर पर्छ भन्ने थिएन । त्यसैगरी, सेता फुलेका हिमाल काला हुन्छन् भन्ने कल्पना गरिएको थिएन । तर, अहिले हिउँँ छिटो पग्लिन थालेको छ । पर्वतारोही र तिनका सहयोगीले लगेका खाद्यपदार्थ, अक्सिजन सिलिन्डर र अन्य उपकरण धेरै देखिन थालेका छन् ।


हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त

२८ पुष २०७८: पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरुमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफिेड), डोको रिसाइक्लियरर्स र ब्लु वेष्ट टू भ्यालु नामक संस्थाद्वारा संयुक्त रुपमा यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएसँगै यसले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरुका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापीरुपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रुपमा उठाउन पनि विज्ञहरुले सुझाव दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले केही वर्षअघि सगरमाथाबाट सङ्कलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरु पाइएको तथ्यहरुले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औँल्याएको थियो ।

 

सो अवसरमा वन तथा वातावरणमन्त्री रामसहाय यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवं नियन्त्रणका कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि एक कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको जानकारी गराउनुभयो । उहाँले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण हुन नदिन हाम्रो आन्तरिक प्रयाससँगसँगै यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्र्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

 

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका प्रविधि अन्वेषण शाखाप्रमुख वैज्ञानिक डा रवीन्द्र ढकालले हिमाली क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गरी त्यसको कारण पहिल्याउन आवश्यक रहेको बताउँदै प्लास्टिकजन्य प्रदूषणको समस्याको समाधान विश्वव्यापी रुपमै खोजी हुनु आवश्यक छ भन्नुभयो । साना तथा मझौला उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले प्लास्टिकहरुको प्रयोगबाट हुने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक असरलाई कम गर्न प्लास्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रयोगकर्ता एवं फोहर सङ्कलन, ओसारपसार र पुनः प्रयोगमा संलग्न व्यक्ति, सङ्घसंस्था, निजी क्षेत्रबीच सहकार्य र साझा दृष्टिकोण बन्नु जरुरी रहेको बताउनुभयो ।

 

कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक प्लास्टिक रामचरित्र साहले नेपालमा प्लास्टिक प्रदूषणको सवाल र प्रभाव, ब्लु वेष्ट टू भ्यालुका नवीन विकास महर्जनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण र सफाइ अभियान, डोको रिसाइक्लियरर्सका पङ्कज पञ्जियारले नेपालमा प्लास्टिक रिसाइक्लिङको अवस्था र समस्या र वन तथा वातावरण मन्त्रालयका केशवराज जोशीले नेपालमा प्लास्टिक प्रदूषण व्यवस्थापनसम्बन्धी सरकारको भूमिका उत्तरदायित्व तथा पहलका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

सेनाले हिमालबाट २०१९ मा १० टन र २०२१ मा २७ दशमलव ६ टन फोहोर संकलन गरेको थियो । २०२१ मा हिउँमा पुरिएका ४ वटा शव निकालिएको थियो ।

Comments Box