काठमान्डौँबाट डाइभर्ट भएर अब जहाज भारत पुग्नु पर्दैन



भैरहवा, ३१ जेठ: काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज माैसममा खराबी आउँदा भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

 

कुवेतबाट काठमाडाैंका उडान भरेकाे जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराकाे जे नाइन ५४१ काे जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

 

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे  काठमाडाैंका लागि उडान भरेकाे थियाे । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेकाे छ ।

 

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको याे पहिलो घटना हाे । गाैतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलकाे भर पर्नुपर्थ्याे ।


२ जेष्ठ २०७९, सोमबार

सुशिल हुँदा शिलन्यास, ओलि हुँदा ४८% निर्माण, देउवाले उद्घाटन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गरेका हुन् ।

 

यससँगै अब मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने छ ।

 

हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरिसकेको छ ।

 

विमानस्थलको उद्घाटन हुनुअघि कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यवसायिक उडान भरेको जजीरा एयरलाइन्सको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो । यस विमानस्थलमा पहिलो व्यवसायिक हवाई उडान सञ्चालन गरेको जजीरा एयरलाइन्सको उक्त विमानबाट आएका सबै यात्रुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।

 

वि स २०७१ मघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड १९ का कारण निर्माण अवधि लम्बिएको हो ।

 

पूर्व प्रधानमन्त्री के पि शर्मा ओलिले आफ्नो सरकारको कार्य विवरण सुनाउंदै भनेका थिए;

“गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण ५० प्रतिशतबाट ९८ ।८ प्रतिशत सम्पन्न भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको १५ प्रतिशतबाट ७० प्रतिशत भौतिक प्रगति भएको छ । कोभिड– १९ को महामारी नआएको भए यी दुवै बिमानस्थल अहिले सञ्चालनमा आइसक्ने थिए ।”

 

ओलिको ३ वर्षे प्रधानमन्त्रीत्व कालका प्रगति विवरण

 

सबै ठेक्का कार्गो भवनसहित विमानस्थलका लागि १० अर्ब र जग्गा अधिग्रहणको मुआब्जाका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्चेर विमानस्थल सञ्चालनमा आएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।


१५ बैशाख २०७९, बिहीबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ ।  यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार अप्रेसन फ्लाइटका लागि निगमको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्नेछ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किनेछ ।

 

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोली आउने छ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारेमा जानकारी समेत लिने छ ।

 

परीक्षण उडानपछि अब अन्य मुलुकले पनि चार्टड फ्लाइट गर्नसक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले बताए ।

 

गौतमवुद्ध विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।

 

अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलभित्र पार्टेसन, फर्निचर व्यवस्थापन तथा अध्यागमन कार्यालयले समेत आवश्यक तयारीको काम गरिरहेको छ ।

 

अन्तर्राष्ट्रिय उडानको लागि पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले चासो दिएको थियो। सोही अनुसार जजिराले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ ।

 

यस्तै, नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले पनि चासो देखाएका छन्।


भैरहवा, ८ वैशाख

उडान र अवतरण सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ ।  रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएकाे हाे ।

 

 

१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ ।

 

एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन  र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवमा नभएर नयाँ रनवेमा हुन्छ, पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको  गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताए ।

 

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान-अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ ।

 

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थलरहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्‌घाटन जेठ २ गतेबाट हुँदैछ ।

 

विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र  कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दहालले बताए ।

 

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्‍याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्‍याइसकेको छ ।


५ फाल्गुन २०७८, बिहीबार

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्नका लागि एरो थाईको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ । त्यसपछि परीक्षण उडान हुनेछ । शुक्रबारबाट २७ फेब्रुअरीसम्म हरेक दिनजसो आन्तरिक उडान भने प्रभावित हुनेछ ।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।

 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।

 

एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एकमहिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ ।

 

एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटिसिलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ ।

 

आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एकसाता अवधिको हुनेछ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको उक्त आयोजना केही बिलम्ब भएको थियो ।

 

क्यालिब्रेसन फ्लाइट विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले पनि आयोजना ढिलो भएको उहाँले बताउनुभयो । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “गौतमबुद्ध विमानस्थलको प्राविधिक प्रक्रिया लगभग पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने केलिब्रेसन फ्लाइट, अबको एक महिनाभित्रै सक्छौँ, त्यसको तीन महिनाभित्र परीक्षण उठान गरी अर्को पाँच महिनाभित्र व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने योजना छ ।” परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उहाँको भनाइ छ ।

 

२०२१ को सुरूआतबाट सञ्चालनमा ल्याइने जनाइएको थियो …

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरूआतबाट सञ्चालनमा ल्याइने जनाइएको थियो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ भएको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो ।

 

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

Comments Box