भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।

 

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

 

 


बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

 

 

राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म हुने गरी तय गरेको छ । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म हुने राष्ट्र बैंकले बताएको छ ।

 

 

७९ सालको लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ्ग सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजस्व कारोवार गर्ने शाखा /काउन्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सेवाग्राहीले एकै दिनमा पाउने सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गर्न पनि राष्ट्र बैंकले भनेको छ ।


१६ वैशाख, काठमाडौं

शुक्रबार पनि सेयर बजार खुलाउने तयारी

अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो ।

 

 

सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो ।

 

यद्यपि, यसको औपचारिक निर्णय भने भइसकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सरकारी निर्णय अनुसार शनिबार र आइतबार बन्द हुने र शुक्रबार बजार खुलाउने तयारी गरिएको बताए ।

 

सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल भएको छ । अहिले बजार खुलेको दिन ११ बजेदेखि ३ बजेसम्म अर्थात दैनिक ४ घण्टा सेयर बजार खुला हुने गरेको छ ।

 

समयावधि बढाउनु पर्ने कतिपय लगानीकर्ताहरुको सुझाव आउपनि यो भने तत्कालै लागू नहुने भएको छ । यसका लागि नियमावली नै संशोधन गर्नु पर्ने प्रवक्ता पराजुलीले बताए । शुक्रबार कारोबार खुला गर्नका लागि भने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले नै निर्णय गर्न सक्ने व्यवस्था छ ।