सुखी गाउँ – घले गाउँ



 

लमजुङ २ वैशाख: लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएकाे छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले  घलेगाउँलाई सुखी गाउँ घोषणा गरेको बताए  ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्रामीण पर्यटन घलेगाउँ बिश्वमै रमणिय ठाउँ भएको बताए । उनलेे भने घलेगाउले नयाँ बर्ष सगै नयाँ कामको थालनी भएको छ मलाई बिश्वास छ घलेगाउ बिश्वमै सुन्दर र नमूना पर्यटकीय गाउले परिचीत हुनेछ । 

 

 

गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’  घोषणा गरिएको  घलेगाउँ पर्यटन व्यवस्थापन समितिका  अध्यक्ष प्रेमबहादुर घलेले बताए ।  

 

२०४० को दशकसम्म दुर्गम, पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो,  घलेगाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर उकासिएको छ । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २३ वैसाख २०५७ मा प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।

 

घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो । २०६४ फागुनमा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै १७ मंसिर २०७६ मा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ ।

 

लमजुङ सदरमुकाम बेंसीसहरबाट डेढ घण्टामै मोटरमा पुगिन्छ । बेंसीसहरबाट घलेगाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ ।

 

३० चैत्र २०७८, बुधबार

शाहवंशीय राजाहरूको उद्गमस्थलको रुपमा परिचित लमजुङ दरबार ओझेलमा

पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित गाउँशहर दरवार र सँगै रहेको कालिका मन्दिर सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँशहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।

 

 

मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनको कमि भएको सरोकारवालाहरूको बुझाइ छ । फष्टाउँदो पर्यटन व्यवसाय र प्रशस्त सम्भावना भएकोले अब स्थानीय सरकारले दरबारको सम्वर्द्धन र प्रवर्द्धन गर्नुपन स्थानीय  देवप्रसाद गुरुङको धारणा छ । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पहल भएको पाइँदैन । 

 

१६औं शताब्दीतिर मुलुक बाइसे चौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रम्ह शाहले राज्य गर्थे । गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।

१५ माघ २०७८

होमस्टे परियोजनाका लागि लमजुङका तीन घरबास छनोट

गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीन घरबास छनोट गरेको छ । प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास (होमस्टे)लाई परियोजनाका लागि छनोट गरेको हो ।

 

 

गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले २०७५ कार्तिक २९ मा होमस्टे सञ्चालन कार्यविधि बनाएसँगै अनुदान कार्यविधि बनाएर प्रथम पटक प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । होमस्टे सञ्चालनको दर्ता र नविकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि, परियोजनाको लागि स्थानीय तहको सिफारिस, परियोजनाको लागि अन्य साझेदार संस्था भए सो सम्बन्धि विवरण र परियोजना सञ्चालन गर्ने सामूहिक प्रतिवद्धताको निर्णय अनुदानका लागि पेस गर्न अनिवार्य चाहिने कार्यविधिले तोकेको छ ।

 

होमस्टे सञ्चालन कार्यविधि बनाएसँगै अनुदान कार्यविधि बनाएर सरकारले प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।

 

प्रदेशभित्रका ६२ घरबासले उक्त परियोजनाका लागि माग दाबी गरेकामा प्रदेश मन्त्रिपरिषद्को निर्णयले ३० घरबासलाई त्यसका लागि छनोट गरेको हो । छनोटमा परेका घरबासमा लमजुङ दरबार नजिकैको बेँसीशहर नगरपालिका–३ को काउलेपानी सामुदायिक होमस्टे, राइनास नगरपालिका–३ को कुडुले सामुदायिक घरबास (राइनास होमस्टे) र बेँसीशहर नगरपालिका–६ को पुमागाउँ सामुदायिक घरबास रहेका छन् । काउलेपानी र राइनास होमस्टेलाई सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेलाई पदमार्ग निर्माणका लागि छनोट गरिएकोे हो । ती घरबासले रु १०÷१० लाखका दरले रकम प्राप्त गर्ने छन् ।

 

१ फाल्गुन २०७७

एघार महिनापछि खुल्यो काउलेपानी होमस्टे: मास्क अनिवार्य, सेनिटाइजारलगायत सुरक्षा मापदण्ड

 

 

कोभिडले प्रभावित बनेको करिब एघार महिनापछि पर्यटकका लागि यहाँका काउँलेपानी घरवास (होमस्टे) शनिबारदेखि खुल्ला हुने भएको छ। समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकलाई खुल्ला गर्ने भएको हो।

 

आज बसेको काउलेपानी पर्यटन विकास समितिको बैठकले उक्त निर्णय गरेको हो। कोभिडका कारणले सरकारले लकडाउन गरेको गत चैत ११ गतेदेखि नै बन्द रहेको यस घरवासमा शनिबारदेखि सुरक्षा सतर्कता अपनाउँदै घरवास सञ्चालन गर्ने गर्न लागिएको यस समितिका अध्यक्ष देबबहादुर गुरुङले बताउनुभयो। “यहाँ घरवासमा आउने पर्यटकलाई नै अनिवार्य मास्क प्रयोग गराउँछौँ, हामीले पनि प्रयोग गर्छौँ साथै, सेनिटाइजारलगायत सुरक्षा मापदण्ड अपनाउनेछौँ”, उहाँले भन्नुभयो। सामाजिक दूरी कायम गर्दै विगत जसरी नै पर्यटकलाई स्वागत सत्कार तथा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिने उक्त समितिले जनाएको छ। समितिका अनुसार यहाँ आएका पर्यटकको मनोरञ्जनका लागि गुरुङको लोपोन्मुख कृष्ण चरित्र, घाटु, घ्याब्रे नाचलगायत विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गर्नेछ।

 

सन् २०११ बाट सञ्चालनमा आएको यस घरवासमा १५ घरमा घरवासको व्यवस्था गरिएको छ। यहाँ नेवार, गुरुङ र भुजेल समुदायको घरवास रहेको छ भने, यी सबै घरवासमा गरी ८८ वटा पर्यटक एकै रातमा सुत्न सकिने बताइएको छ। यस काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छे«, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डा हर्कपिकलगायत एक दर्जन हिम श्रृङ्खला देख्न सकिन्छ। साथै शाहवंशीय राजाको उथमथलो मानिने लमजुङ दरबार, सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ। यहाँ पूजा तथा दर्जन गर्नाले मनोकांक्ष पूरा हुने जनविश्वास छ। त्यस्तै, गाउँमा रहेको काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ। प्रति पर्यटकलाई एक रातको रु एक हजार ५० लाग्ने गर्दछ। जिल्लामा विस्तारै बन्द रहेको घरवास सञ्चालन हुने तयारीमा रहेका छन्।

 

गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टिका (अक्षता)ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीन पटक गाउँलेले पर्यटकलाई खुवाउने गर्दछन्। अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ।

 

स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन्। त्यस्तै, रात्रिको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँछन्।

 

छुट्टिने बेलामा विदाई गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोसेली स्वरूप सेल रोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ। बेँसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदलयात्रामा साढे एक घण्टा समय लाग्छ। पैदल यात्रुहरूका लागि सिंढी निर्माण गरिएको छ भने, सवारी साधनमा जाने पर्यटकको लागि सडकको स्तोरोन्ती गरिएको छ।

 

त्यस्तै, कोभिडले प्रभावित पारेको जिल्लाकै सबैभन्दा पहिला सञ्चालनमा आएको दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ र वडा–४ भुजुङ, मस्र्याङ्दी गाउँपालिकास्थित सिउरुङ, राइनास घरवास सञ्चालनमा आइसकेको छ।