राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ



२६ मंसिर (रासस) :  राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गर्नुभएको छ ।

 

सो अवसरमा उहाँले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नुभएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी।फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा रावलले बताउनुभयो ।

 

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका अनुसार प्रतिष्ठानले १२ सिटको लागि अयोग समक्ष माग गरेको छ । उहाँले भन्नुभयो“ प्रतिष्ठानले विषयविज्ञका राय सुझावका तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासका आधारमा पाठ्यक्रमको मस्यौदा तयार गरी अयोग समक्ष निवेदन दिने तयारी गरेको छ । पाठ्यक्रमको स्वीकृति पाएसंगै पठन पाठन सुरुआत हुन्छ ।”

 

गतवर्षदेखि प्रतिष्ठानमा स्नातकोत्तर तहका जनरल प्राक्टिस तथा इमरजेन्सी, पेरियाक्ट्रिक र एनेस्थेसिया तथा क्रिटिकल केयरमा पठन पाठन सुरु भएको थियो । प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि चिकित्सा विषय अन्तर्गत स्नातक तहका एमबिबिएस,विएन र फार्मेसी विषयमा २० सिटमा पठन पाठनको सुरुआत पहिलोपटक हुँदैछ । योसँगै जुम्लामा डाक्टर उत्पादन गर्ने ढोका खुलेको छ । यसअघि स्नातक तहमा विएन , विपिएच र मिडवाइफ्रिमा पठन पाठन हुँदै आएको छ ।

 

यसैवीच प्रतिष्ठानले एमएन तहको पाठ्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन हालै भर्जुअल छलफल समेत आयोजना ग¥यो । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले प्रतिष्ठानलाई चिकित्सा शिक्षा र सेवाको उत्कृष्ट केन्द्र बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “ प्रतिष्ठानले चिकित्सा विधाका प्रमुख विषयमा पठन पाठन गर्ने तयारीमा जुटेको छ । प्रतिष्ठानलाई सेवा र शिक्षाको उत्कृष्ट गन्तव्य बनाउँछौँ । अव कर्णालीले चिकित्सक उत्पादन गरी अन्यत्र पठाउँछ ।”

 

प्रतिष्ठानका नर्सिङ डीन सहायक प्राडा सरस्वती गौतमले नर्सिङ विषयका सबै तहमा प्रतिष्ठानमा पठन पाठन हुन लागेको जानकारी दिँदै यसले समग्र कर्णालीको शिक्षा र स्वास्थ्यमा कोशेढुङ्गाका काम गर्ने बताउनुभयो । सहायक प्राडा शर्मिला जोशीले प्रतिष्ठान र विज्ञले तयार पारेको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उहाँले दुई वर्षको उक्त पाठ्यक्रम बढीभन्दा बढी व्यावहारिक हुने बताउनुभयो ।

 

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पाठ्यक्रमको मस्यौदामा सुझाव दिँदै कुनैसमय डाक्टर नपाउने जुम्लाले अहिले आफले चिकित्सा विषयका विभिन्न विधामा पाठ्यक्रम तयार गर्नु कर्णालीका लागि गौरबको विषय भएको बताउनुभयो ।

 

पाठ्यक्रमको मस्यौदामाथि विभिन्न विज्ञले सुझाव दिनुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्याका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला गौतम, प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राडा मुनीराज क्षेत्रीलगायत विज्ञले मस्यौदामा सुझाव दिनुभएको थियो ।

Comments Box