दोर्दी खोला करिडोर: माथिल्लो दोर्दी ‘ए’को व्यापारिक उत्पादन कात्तिकदेखि

दोर्दी खोला करिडोरका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत



असोज ३० गते । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकदेखि व्यापारिक उत्पादन थाल्ने भएको छ ।

 

दोर्दी गाउँपालिका–६, ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको यो आयोजनाबाट परीक्षण उत्पादन सुरु भइसकेको छ र उत्पादित बिजुली केन्द्रीय प्रणालीमा थपिएको छ । आयोजनाका प्रवद्र्धक कम्पनीका सञ्चालक राजेन्द्र वस्तीका अनुसार आयोजनाले निर्माण पूरा गरी शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

भूकम्प, नाकाबन्दी, बाढीपहिरो र कोरोना महामारीलगायतका समस्या सामना गर्दै विद्युत् उत्पादन गर्न सफल भएको वस्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “१५ दिन परीक्षण गर्छौं । परीक्षण सफल भएपछि कात्तिकदेखि व्यापारिक उत्पादन थाल्छौँ ।”

 

२०७६ साल चैतदेखि नै विद्युत् उत्पादन गर्ने तालिका रहे पनि विभिन्न समस्याले ढिलाइ भएको वस्तीले बताउनुभयो । आयोजनाको पेनस्टक पाइप, टनेलमा बाढीले क्षति गरेपछि तोकिएको समयमा काम सम्पन्न गर्न र विद्युत् उत्पादन गर्न ढिलाइ भएको उहाँले जानकारी दिनुभयो ।

 

आयोजना पूरा गर्न सुरुमा चार अर्ब ६४ करोड ६१ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । आयोजना सम्पन्न हुँदा करिब पाँच अर्ब रुपियाँ लगानी पुगेको जनाएको छ ।

 

आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङबाट दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिएको छ । आयोजनामा १२ दशमलव पाँच मेगावाटका दुईवटा पेलटन टर्वाइन जडान गरिएको छ ।

 

नेपाल विद्यत् प्राधिकरणले यो आयोजनाको विद्युत् गृह नजिकै दोर्दी गाउँपालिका–६, कीर्तिपुरबेँसीमा १३२ केभी सबस्टेसनमा निर्माण गरेको छ ।

 

२०७१ फागुनदेखि निर्माण सुरु गरिएको आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले लगानी गरेका छन् । आयोजनामा बैङ्कको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी लगानी छ । रन अफ रिभर (नदीको बहावमा आधारित) यो आयोजनाको प्रभावित क्षेत्र (ढोडेनी, फलेनी)को विकासका लागि छ करोड रुपियाँ विनियोजन गरेको थियो ।

 

आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपियाँ ४० पैसा र वर्षायाममा पाँच रुपियाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत्् प्राधिकरणबीच विद्युत्् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।


दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु

१२ भदौ २०७९/ रासस: हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ।

 

दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए।

 

उनले भने, ‘हामीले केही महिना अघि नै निर्माण कार्य सम्पन्न गरे पनि उत्पादित बिजुली जोड्ने २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भई नसकेकाले समय लागेको थियो।’

 

यहाँ प्राधिकरण अध्ययन टोली आएर जाँच गर्न थालेको र चार/पाँच दिनसम्म परीक्षण चल्ने उनको भनाइ छ।

 

परीक्षण सफल भएमा व्यावसायिक रूपमा बिजुली उत्पादन गरिने आयोजना प्रमुख शाक्यले बताए। यसअघि आयोजनाले विभिन्न भागको परीक्षण गरेको थियो।

 

आयोजनाका इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलेक्ट्रो-मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न गर्दै ती सबैको सफल परीक्षणसमेत भइसकेको छ।

 

पेनस्टकको सात सय मिटर, तीन हजार दुई सय मिटरको सुरुङ खन्ने तथा पाइप विछ्याएको छ भने अर्को दुई हजार दुई सय ७० मिटर सुरुङ रहेको छ। आयोजनाको बाँधस्थल दुई सय १२ मिटर ‘ग्रसहेड’ रहेको छ।

 

बेँसीसहर नगरपालिका-११ रामचोकबेँसीमा पावरहाउस रहेको छ। २०७२ फागुनदेखि निर्माण सुरु गरिएको यस आयोजनाले २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो।

 

तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्‍याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले पनि निर्माणमा ढिलाइ हुँदै आएको र निर्धारित समयमा काम सम्पन्न हुन नसकेर पटक-पटक म्याद थप्दै निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ।

 

पछि समय थपेर २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि असारसम्म सक्ने गरी म्याद बढाइएको थियो।

 

सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको थियो। बिजुली उत्पादन गर्न नसकेपछि २०७७ चैत महिनासम्मको निर्माण अवधि रहेको तर सम्पन्न हुन नसकेको र पटकपटक समय थप गर्दै आएको यस आयोजनाले बल्ल बिजुली उत्पादन परीक्षण थालेको हो।

 

सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले चार अर्ब ६४ करोडसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ।

 

यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आईएमई ग्रूपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ।

 

विद्युत् प्राधिकरण र सो कम्पनीबीच २०६९ असार १ गते पीपीए सम्झौता भएको थियो। आयोजनाका अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ।

 

जिल्लामा यस आयोजना बाहेक अन्य आयोजनाले समेत निर्धारित समयमा आयोजना निर्माण सम्पन्न नभएपछि म्याद थप गर्दै अघि बढिरहे पनि चाँडै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन्।


११ चैत्र २०७८, शुक्रबार

दोर्दी खोला करिडोरका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत

मर्स्याङ्दी नदी-बेसिनमा पर्ने लमजुङको दोर्दी खोला करिडोरका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ ।

 

निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको हो ।

 

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२.५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना गरी ५ वटा जलविद्युत आयोजनामा निजी क्षेत्रको २४ अर्ब लगानी रहेको जनाईएको छ ।


१४ मंसिर २०७८

 

कुन हाईड्रोमा कती लगानी ?

दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत एक वर्षदेखि आयोजनाको निर्माणकार्य सुरु भएको हो । कम्पनीकाअनुसार आयोजना रु ८० करोडभन्दा बढी लगानीमा उक्त आयोजना निर्माणधीन छ ।

 

करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ ९५४ मेगावाट० आयोजना कूल रु आठ अर्ब ८० करोड लागतमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको २७ करोड लगानी छ ।

 

दोर्दी खोला जलविद्युत् आयोजना रु तीन अर्ब ८६ करोड लगानीमा निर्माणाधीन छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई समूहको ३४ प्रतिशत लगानी छ ।

 

त्यस्तै लिबर्टी इनर्जी कम्पनीले दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको रु चार अर्ब ६३ करोड लगानीमा निर्माण थालिएको छ । दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को सहायक कम्पनी दोर्दीखोला जलविद्युत् कम्पनीले दोर्दी–१ १२.१ मेगावाट आयोजना निर्मार्णाधीन छ । यस आयोजनाको लागत रु दुई अर्ब ३९ करोड रहेको जनाइएको छ । आयोजना रु तीन अर्व ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवद्र्धक वस्तीले बताउनुभयो । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

 

प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत् पनि खेर जान नदिने प्रतिबद्धता यसअघि नै जनाएको छ ।

Comments Box