गण्डकी विश्वविद्यालयद्वारा ‘कन्फरेन्स प्रोसिडिङ्स’को विमोचन



गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गरिएको छ । विश्वविद्यालयले गत अप्रिल २ र ३ तारिखमा पोखरामा आयोजना गरेको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपालसहित आठ देशका सहभागी वैज्ञानिकले उठाएका विषयलाई सङ्गालोका रूपमा प्रकाशित गरेको हो ।

 

 

गन्डकीका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरु गरेको फरक अभ्यास 

प्रदेश सरकार गठन भएपछि महत्वाकांक्षी योजनामा प्रदेश विश्वविद्यालयको स्थापना अघि सारिएको थियो। डा. तीर्थबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलले मुख्यमन्त्री गुरुङ समक्ष आफ्नै विश्वविद्यालय सञ्चालनार्थ गठित स्वरुप र सञ्चालन ढाँचा अध्ययन बुझाएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तर विरोध सहँदै प्रदेश सभाबाट बहुमतले पारित विधेयकले प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि मार्ग प्रशस्त गर्ने गरेको थियो।

 

पहिलो प्रादेशिक विश्वविद्यालयका रूपमा स्थापित गण्डकी विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजबाट चल्नेछ । प्रधानमन्त्री वा मुख्यमन्त्री कुलपति हुने व्यवस्था छैन । त्रिभुवन विश्वविद्यालयमा पच्चीस वर्ष पढाएका प्रा.डा.गणेशमान गरुङ गण्डकी विश्वविद्यालयका कुलपति छन् । उनले लोकसेवा आयोगको सदस्यका भएर काम गरे, विश्वविद्यालउ अनुदान अयोगमा अध्यक्षको जिम्मेवारी पूरा गरे, संविधानसभाका सदस्य रहे । गण्डकी विश्वविद्यालय अरू विश्वविद्यालयभन्दा फरक बोर्ड अफ ट्रस्टिजको अभ्यासबाट सफल सञ्चालन गरेर देखाउने हाँक कुलपति गुरुङले स्वीकार गरेका छन् । विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राखेर पूर्णरूपमा प्राज्ञिक थलो बनाउनु उनको एकमात्र दृष्टि हो ।

 

 

 

स्थापनाको बेला विरोध्, अहिले प्रदेश कै पहिचान हुने आश !

‘कन्फरेन्स प्रोसिडिङ्स’ विमोचन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ । उहाँले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालय प्राविधिक, वास्तविक र व्यवहारिकरूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री नेपालीले सरकारको अवधारणाअनुसारको विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभयो ।

 

गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्माले विश्वविद्यालयमा विपन्न, दलित र पिछडिएका वर्गलाई पठनपाठनमा आरक्षण प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले स्थापनाको छोटो अवधिमा विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’, ‘ब्याचलरर्स इन इनफरमेसन टेक्नोलोजी’ र ‘ब्याचलर्स अफ फार्मेसी’मा अध्यापन सुरु गरेको जानकारी दिनुभयो ।  गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशको सम्भावना, आवश्यकता र सरकारले लिएको विकासको लक्ष्य प्राप्त गर्न विश्वविद्यालय सहायक हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले प्राविधिक र रोजगारमूलक शिक्षालाई जोड दिइएको बताउनुभयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा कैलाश तिमिल्सिनाले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक ‘हव’का रूपमा विकास गर्ने गरी विश्वविद्यालय अघि बढेको उल्लेख गर्नुभयो ।