प्रथम गण्डकी प्रदेश सरकारले सुरु गरेको बहुबर्षिय आयोजना; खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागी थप ७ करोड



लमजुङ, २६ असार: लमजुङको सुन्दरबजार र मध्यनेपाल अन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले थप सात करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षबाट स्तरोन्नति सुरु भएको सो सडकमा आगामी आर्थिक वर्षका लागि थप सात करोड रुपैयाँ विनियोजन गरेको हो ।

 

प्रदेश सरकारले समानिकरण तर्फ बजेट विनियोजन गरेको प्रदेश सरकारले सार्वजनिक गरेको रातो किताबमा उल्लेख छ । उक्त सडकका लागि चालु आर्थिक वर्षमा पनि सात करोड विनियोजन भएको थियो । बजेट विनियोजन भएसँगै सडक स्तरोन्नतिको काम सुरु भइसकेको छ ।

 

सुन्दरबजार–२, हाँडेटार देखि मध्यनेपाल–१, निवुवाटारी सम्म करिब ११ किलोमिटर सडक दुई वर्ष भित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो । सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुबर्षिय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो ।

 

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको हो । हाल सडक विस्तारका लागि आवश्यक मापदण्ड बमोजिम कटिङ गर्ने कार्य सम्पन्न भई नाली बनाउने काम सुरु भएको छ ।

 

आगामी दुईवर्ष भित्र कालोपत्रे काम सम्पन्न गर्ने लक्ष्य सहित स्तरोन्नतिको काम सुरु भएको कार्यालयले जनाएको छ । सडक निर्माणका लागि काठमाडौंस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको छ । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिना भित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालय प्रमुख सुमन गिरीले बताए ।

 

पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटार देखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटर मध्ये तिन किलोमिटर सडक ढलान गरिनेछ । सुन्दरबजार नगरपालिका अन्तर्गत जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो ।

 

एक दशक अघि सञ्चालित ड्रिलिप परियोजनाबाट बनेको सडक मध्यनेपालको दुई पिप्लेदेखि जिताटारसम्म यसअघिनै कालोपत्र भइसकेको छ भने यता सुन्दरबजारको परेवाडाँडा अन्तर्गत करिब १ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

 

सडक पहुँच सहज नहुँदा दक्षिण पश्चिम लमजुङका नागरिकहरूलाई सदरमुकाम आउन निकै सास्ती भएको थियो । हिउँदको समयमा कच्ची सडकको धुलो र वर्षातको समयमा हिलाम्मे हुँदा यात्रुसँगै स्थानीयले पनि सास्ती बेहोर्दै आएका थिए ।

 

यसअघिनै कालोपत्रे भइसक्ने स्थानीयले अपेक्षा गरे पनि हालसम्म सडक कालोपत्रे नहुँदा स्थानीय निराश बनेका थिए । तर अव दुई वर्ष भित्रै सडक कालोपत्रे हुनेगरी प्रक्रिया अटिबढेसँगै स्थानीय खुसी भएका छन् ।

 

उक्त सडक कालोपत्रे भएसँगै सो भेगका नागरिकहरूलाई सदरमुकाम आउन र जिल्लाको सुन्दरबजार, राईनास, दोर्दी र मर्स्याङ्दी क्षेत्रका नागरिकहरूलाई प्रदेशमुकाम पोखरा जान निकै सहज हुने अपेक्षा गरिएको छ ।

Comments Box