तिहारका हरेक दिनको विशेष (मन्त्र सहित) महत्व



तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु-गोवर्धन र भाइ पुजा गरिन्छ ।

 

 

काग तिहार

काग तिहार कार्तिक कृष्ण त्रयोदशी का दिन पर्छ । यमपन्चकको पहिलो दिन तिहारमा कागको पूजा गर्दा फूल, अक्षताले आकाश तिर छर्किदै पुज्दै–ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम् ।’ भन्ने मन्त्रले कागलाई बोलाएर दहीभात आदि खाद्यपरिकार दिनुपर्ने शास्त्रीय प्रावधान छ ।

 

काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।

कुकुर तिहार

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ कतिपय जानकारहरुले ’द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ ।’ भन्ने मन्त्र पढ्दै पूजा गर्ने गर्छ्न।

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।

लक्ष्मीपूजा

पाँच दिनमध्ये तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको दिन हो । यो दिनलाई गाई तिहार पनि भनिन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ । प्रार्थना गर्दा “लक्ष्मीर्या लोकपालानां धेनुरूपेण संस्थिता घृतं वहति यज्ञार्थे मम पापं व्यपोहत” भन्ने मन्त्र पढ्नु पर्दछ । त्यस्तै खाने कुरा दिँदा,“सुरभिर्वैष्णवी माता नित्यं विष्णुपदेस्थिता । गोग्रासं च मया दत्तं त्वं गृहाणानुकम्पया” भन्ने मन्त्र पढ्नुपर्ने शास्त्रीय मान्यता छ ।

वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। दीपावलीमा “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर्नुहोस् । भन्ने यो दिन चेलीबेटीहरू खासगरी स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेलेर रमाइलो गर्ने चलन छ।

गोवद्र्धन पूजा

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ। यस दिन गोरुको पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि तयार गरी फूलको माला लगाई मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ ।

गोबर्धन पर्वतको पूजा गर्दा “गोवद्र्धन धराधार गोकुलत्राणकारक । कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव” भन्ने मन्त्र र बलिराजाको प्रर्थाना गर्दा “बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित । इन्द्रशत्रोडमराराते विष्णुसान्निध्यदो भव” भन्ने मन्त्र पढ्नुपर्ने विधान छ ।

 

नेवार समुदायले यहि दिन आफ्नो शरीरलाई पुजा गरी म्हपुजा मनाउँछन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ । परिवारमा मुलीले परिवारका सबै सदस्यहरुको म्ह अर्थात शरिरको पुजा गरी हाँस वा कुखुराको फुल सगुन अर्पण गरिन्छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले ईस्वी सम्वत् ८८० मा नेपाल सम्वत् चलाइएका थिए । उनले काठमाडौंका जनतालाई ऋणमुक्त गराई नेपाल संवत् चलाइएका थिए । त्यसरी एकजना साधारण जनताले राष्ट्रको नाममा चलाइएको संवत् फेरिएको खुसियालीमा एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र शंखधर साख्वाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

यसै दिन देखि पुरुषहरुले देउसी खेली व्यापक रमाइलो गरि तिहार मनाउने गरिन्छ।

भाइटीका

यमपन्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका र महत्वका साथ मनाइन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । यमराजको प्रार्थना गर्दा “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करै साद्र्धं सूर्यपुत्र नमोडस्तुते” भन्ने मन्त्र पढ्न पर्दछ ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेश को पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।