नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड



डादशैं अर्थात् नवरात्रको सातौँ दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

 

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ ।

 

कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

 

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

 

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

Comments Box