बेँसीसहर–चामे सडक ठाउँठाउँमा अवरुद्द रकम हुँदा पनि किन भएन काम ??

सडक मर्मत गर्न स्काभेटर छ तर अपरेटर र डिजेल छैन, आयोजना प्रमुख र ठेकेदार फोन अफ गरेर बस्छन - स्थानिय



डुम्रे बेसिशहर चामे सडक अन्तर्गत पहिरोको कारण विभिन्न ठाउँमा सडक अवरुद्द भएको छ । सडक मर्मतका लागी बजेट विनियोजन भए पनि काम नहुँदा स्थानियले सास्ती भोग्नु परेको छ ।

 

६५ किलोमिटर दूरीको बेशीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । डुम्रे बेसिशहर चामे सडक अन्तर्गत पहिरोको कारण मनाङको कोतो, लमजुङको उदीपुर , रामबजार, हवाईडाँडा लगायतका स्थानमा पटक पटक पहिरो जाने गरेको छ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ४ रामबजार नजिकै , घोप्टेभीर , उदिपुर लगायतका स्थानहरुमा सडक अवरुद्द हुँदा मनाङबासीले सास्ती पाउने गरेका छन ।

 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार अघिल्लो बर्ष गाँउपालिकाको समन्वयमा प्राईभेट ठेकेदारहरुसँग रहेको स्काभेटर प्रयोग गरी डुम्रे बेसिशहर चामे सडक आयोजनद्वारा सडक मर्मत गरिएको थियो तर लमजुङ खण्डमा भने हाल त्यसरी काम हुन सकेको छैन । पोहोर साल अध्यक्ष घलेले स्थानिय निकायले समन्वय गरी सडक आयोजनाद्वारा काम गरेकाले एकै छिट्टै सडक खुलाउन सफल भएको जानकारी दिएका थिए ।
यस बर्ष पनि स्थानिय निकायसङ समन्वय गरी छिटो-छिटो मर्मत गर्नु पर्नेमा आयोजना प्रमुख नै सम्पर्क-विहिन भएर बसीदिदा समस्या झन बडेको छ ।

 

२०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

 

यसअघी प्रतीनिधि सभाको असार ९, २०७९ को वैठकमा विशेष समय लिएर मनाङबाट प्रतीनिधित्व गर्ने सांसद पोल्देन छोपाङ गुरुङले सडक पुर्वाधारबारे बोल्दै वर्खाभर लमजुङ बेशिशहर सडकखण्डमा कम्तीमा ४ वटा स्काभेटर राख्न सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

 

 

 

डुम्रे बेसिशहर चामे सडक आयोजनाका अनुसार ठाउँ-ठाउँमा स्काभेटर राखिएको छ । तर स्काभेटर भए पनि डिजेल र अपरेटर नहुँदा मर्मत भने हुन सकेको छैन ।

 

२७ आश्विन २०७९ मा यसरि भत्किएको थियो सडक

 

 

 

भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ ।

 

यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम समय सडक निर्माण तथा मर्मत गर्ने उपयुक्त समय हुने भएकाले बाढी पहिराले क्षति पुर्‍याएको सडक खण्डमा जोखिम बढ्दै गएको हो । विगतका वर्षमा हिमपात बढी हुँदा मर्मत तथा निर्माणको काम गर्न सकिने अवस्था थिएन तर, यस वर्ष हिमपात नहुँदा पनि मर्मत तथा निर्माणको काम भएको छैन ।

 

न हिमपात न वर्षा दुवै नभएको अवस्थामा पनि निर्माण कम्पनी र डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले निर्माणका कामलाई तीव्रता दिन नसक्दा कहिलेसम्म मनाङवासी तथा यहाँ आउने पर्यटकले जोखिम झेल्नुपर्ने हो भन्न सक्ने अवस्था छैन । निर्माणको काममा ढिलाइ हुँदा अझै कहिलेसम्म यहाँका बासिन्दाले जोखिम खेप्नुपर्ने हो भन्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् ।

 

हुन त बहुवर्षीय योजनाअन्तर्गत निर्माणका लागि बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । हिमपात र वर्षा नभएको अवस्थामा पनि निर्माणको काम हुन नसक्दा समय लम्बिने देखिएको छ ।

 

उक्त सडकखण्डमा वैकल्पिक मार्ग नहुँदा पनि मर्मत तथा सम्भारमा ढिलाइ हुँदै आएको छ । सडक मर्मतसम्भारको क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम गरिरहेको अवस्थामा वर्षामा समस्या भएको भएको थियो ।

 

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन घलेले उक्त सडकखण्डको जोखिमयुक्त क्षेत्रको सडक मर्मत भए दुर्घटना न्यूनीकरण हुने बताए । सडक सहज बनाउन सडक कार्यालयले समयमा मर्मत तथा सम्भार गर्नुपर्ने उनको भनाइ छ ।

 

नयाँ परियोजनाको रुपमा डुम्रे–बेंसीसहर–चामे सडक खण्ड चार लेन बनाउने योजना रहेको छ । सो सडकखण्ड पक्की र दीर्घकालीन बनाउन सङ्घीय सरकारले रु ६१ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बहुवर्षीयरुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट परेको हो ।

 

आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेंसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनीयोजन भएको  छ । गत वर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिराले क्षति पुर्‍याएको थियो ।

 

Comments Box