कुन प्रदेशमा कस्को सरकार ?



सत्तारूढ गठबन्धनभित्र प्रदेश सरकार निर्माणको विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार दाहाल निवास खुमलटारमा प्रदेश सरकार निर्माणसहितका विषयमा छलफल भएको छ ।

 

एमालेले प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली तथा माओवादीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिने विषयमा ओली र दाहालबीच छलफल भएको छ । मधेस प्रदेशमा भने जसपा र जनमत पार्टीबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने गरी समझदारी जुटाउन खोजिएको छ ।

 

संघमा सत्ता गठबन्धन परिवर्तन हुनेबित्तिकै प्रदेशमा पनि नयाँ समीकरणको अवस्था सिर्जना भएको हो । सातै प्रदेशमा गठबन्धनको बहुमत पुग्ने अवस्था छ । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यामलाल कँडेल संसदीय दलको नेता बनिसकेका छन् । वाग्मती प्रदेश संसदीय दलको नेतामा चितवनका जगन्नाथ थपलिया निर्विरोध निर्वाचित हुने सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेले दलको नेता छान्न बाँकी छ ।

 

प्रदेश १ मा ४० सिट जितेको एमाले पहिलो दल छ भने १३ सिट जितेको माओवादी तेस्रो दल छ । केन्द्रमा गठबन्धनभित्रै रहेको राप्रपाले ६ सिट जितेको छ । जसपाको १ सिट छ । सरकारमा सहभागिताबारे छलफलमा रहेको एकीकृत समाजवादीले ४ सिट जितेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ४७ सिट चाहिन्छ । माओवादीबाट प्रदेश १ मा इन्द्र आङ्बो संसदीय दलको नेता निर्वाचित भएका छन् । मुख्यमन्त्रीका लागि वार्ता गर्न माओवादीले स्थायी समिति सदस्य राम कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरेको छ ।

 

त्यसैगरी मधेस प्रदेशमा २३ सिटसहित एमाले ठूलो दल छ तर जसपा र जनमत पार्टी दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा जसपाको १६ र जनमत पार्टीको १३ सिट छ । त्यसैगरी एकीकृत समाजवादीको ७ र माओवादीको ८ सिट छ ।

 

संघीय राजधानी रहेको वाग्मती प्रदेशमा एमाले संसदीय दलको नेताको छनोट बिहीबार हुँदै छ । चितवन जिल्ला विकास समितिका पूर्वसभापति जगन्नाथ थपलिया नेतामा निर्विरोध छनोट हुने सम्भावना छ । २७ सिट जितेको एमालेले नेतृत्वमा दाबी गरेको छ । माओवादीको २१ र राप्रपाको १३ सिट छ । प्रदेश सरकार गठनका लागि राप्रपाको सहयोग महत्त्वपूर्ण हुने देखिन्छ । १ सय १० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

 

गण्डकी प्रदेशमा एमालेको मात्रै दाबी छ । एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सिट छ । एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना अत्यधिक छ ।

 

लुम्बिनी प्रदेशमा एमाले पहिलो दल भए पनि माओवादीले नेतृत्वमा दाबी गरेको छ । ८७ सदस्यीय प्रदेशसभामा माओवादीको ९ सिट छ । एमालेले २९ सिट जितेको छ । सरकार बनाउनका लागि नागरिक उन्मुक्तिको ४ र जसपाको ३ सिट महत्त्वपूर्ण छ ।

 

कर्णालीमा १० सिटसहित तेस्रो दल रहेको एमालेले मुख्यमन्त्री दाबी गरेको छ । एमालेले स्थायी कमिटी सदस्य यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन चाहेको छ । कँडेल पहिलो प्रदेशसभामै मुख्यमन्त्री बन्न चाहेका थिए तर केन्द्रले गरेको बाँडफाँटमा कर्णाली प्रदेशको नेतृत्व माओवादीको भागमा परेको थियो ।

 

नेकपा विभाजनपछि कँडेलले अविश्वास प्रस्ताव ल्याएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न खोजेका थिए तर ४ सांसदले फ्लोरक्रस गरेपछि उनको प्रयास असफल भएको थियो । ४० सदस्यीय प्रदेशसभामा एमालेको १० र माओवादीको १३ सिट छ । माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा निर्वाचित भएका छन् ।

 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीको ११ र एमालेको १० सिट छ । ७ सिटसहित निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेश सरकारको नेतृत्व दाबी गरेको छ । राप्रपाको १ स्थान रहेको छ । त्यसैगरी एकीकृत समाजवादीको ४ सिट रहेको छ । यहाँ ठूलो दल कांग्रेसको १९ सिट छ । माओवादी नेता खगराज भट्ट मुख्यमन्त्रीको दौडमा छन् ।

Comments Box