बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति



भक्तपुर, २५ साउन: अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो ।

 

ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटनाका कारण मानवीय क्षति भने हुन नपाएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

 

वर्षाका कारण चाँगुनारायण नगरपालिका-४ मनाेहरा खोला निलोपुल नजिक सुनसरी घर भई हाल सोही स्थानमा बसी बंगुर फर्म सञ्चालन गर्ने हरि राईको बंगुर फर्मबाट खोलाले चारवटा बंगुर बगाएको छ ।

 

चांगुनाररायण नगरपालिका- १ दुवाकोट बेसी मनाेहरा खोला किनारका २० वटा घरटहरामा पानी पसेपछि मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

 

मध्यपुर ठिमी नगरपालिका- २ मनाेहरा खोला किनार दिब्यश्वरी प्लानिङस्थित सोही स्थान बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका पाँंच सयवटा हाँस, दुई सयवटा बंगुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

 

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ मनाेहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घरटहरामा पानी पसेको छ ।

 

मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमी मनाेहरा खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका वर्ष ७० को पेमा तामाङको टहराभित्र रहेको २६ बोरा चामलमा पानीले क्षति भएको र गिरिराज कुखुराको चल्ला ४५ वटा बगाएको प्रहरीले जनाएको छ ।


काठमाडौंमा ३८५ घर डुबानमा, २४७ जनाको उद्धार

२० भाद्र २०७८ को अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका थिए भने २४७ जनाको उद्धार गरिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको थियो ।

 

काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको थियो । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको थियो । डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ थियो। गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको थियो।

 

मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले  ।

 

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ ।

 

जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् ।

 

आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

Comments Box