होर्डिङ बोर्ड निर्माण गर्दा ३ लाख २६ हजार भ्रष्टाचार; नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा अरु कती ?

आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रमको प्रचारप्रसार कार्यक्रममा भ्रष्टाचार भएको



काठमाडौं, २४ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए (LAPA) कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

साविक जिल्ला विकास समितिको कार्यालय कालिकोटबाट आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रमको प्रचारप्रसार कार्यक्रममा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले खनालमाथि अनुसन्धान सुरु गरेको थियो ।

 

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७०/७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 

अनुसन्धानका क्रममा खनालले ३ लाख २६ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । असैअनुरुप अख्तियारले आज दायर गरेको मुद्दामा खनालसँग ३ लाख २६ हजार ४९७ रुपैयाँ बिगो दाबी गरिएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचाचर मुद्दा दायर गरेको छ ।

 

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दैै अख्तियारले आज उनी विरद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

 

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

 

दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबीग गरिएको छ ।

 


कालिकोटको मान्म–८ ताडीस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डेसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै उनीहरु विरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे) रहेका छन् ।

 

आर्थिक बर्ष २०७०/७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

 

अनुसन्धान हुँदा भवन निर्माण कार्यमा झुट्टा बिल बनाई २ लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना भएको ठहर अख्तियारले गरेको छ । मंगलबार दायर गरिएको मुद्दामा उनीहरुसँग त्यति नै रकम बिगो दाबी गरिएको छ ।

Comments Box