महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती; सङ्ग्रहालय बनेपछि जन्मघरलाई पनि संरक्षण गर्न सरकारसँग अनुरोध

दश वर्षको उमेरमा कविता लेख्न सुरु



नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

 

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

 

महाकवि देवकोटा नेपाली साहित्यको कविता, आख्यान, नाटक र निबन्ध विधाका अमर कवि हुनुहुन्छ । कविता र निबन्धमा उच्च स्थान प्राप्त गर्नुभएका देवकोटाका मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृति छन् । मुनामदन अझै प्रख्यात छ ।

 

स्वच्छन्दतावादी कवि देवकोटाले ‘कुञ्जिनी’ त एकै रातमा लेख्नुभएको थियो । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिनुभएका देवकोटाको विसं २०१६ भदौ २९ मा देहावसान भएको थियो ।

 


पुरानै शैलीमा धुरीसहितको घर बन्दै

देवकोटाको विसं २०४० अघिको घर परम्परागत शैलीको धुरीसहितको छ, चुच्चे गाह्रोमा दुईवटा झ्याल थियो । मौलिक खालको बार्दली र झ्याल थियो । त्यो बार्दली भत्किएको विसं २०४० मा खिचिएको तस्वीरमा देखिन्छ । त्यसपछि पुनः घरको मर्मत सम्भार गरी धुरी भत्काएर जस्ताको छाना लगाएर केही आधुनिक ढाँचामा तयार पारिएको थियो । त्यही घर अहिले भत्काएर पुरानो धुरी भएको घर बनाउन थालिएको हो । यद्यपि पुरानो संरचनामा भने केही हेरफेर गरिनेछ । चुच्चे गाह्रोमा एउटा मात्रै झ्याल राखिनेछ भने अन्य संरचनामा स्वरूप उही तर आधुनिक तरिकाको रहनेछ ।

 

 

देवकोटाले चुच्चे गाह्रोसहितको धुरी भएको घर एक जनापुरोहितबाट विसं १९९० को आसपासमा खरिद गरेको स्थानीयवासीहरु सुनाउँछन् । त्यसअघि उहाँको जन्म भने डिल्लीबजारको धोबीधारामा भएको थियो । त्यो जन्म घर पनि अहिले यथावत नै छ । परिवारका सदस्यले यहाँ सङ्ग्रहालय बनेपछि त्यो जन्म घरलाई पनि संरक्षण गर्न सरकारसँग अनुरोध गरेका छन् ।

 

 

कान्छी छोरी मीराको हकभोगमा रहेको उक्त घरजग्गा गुठीको स्वामित्वमा थियो । देवकोटाका परिवारले मोहियानी हक प्रयोग गर्दै आएका थिए । उक्त घरलाई सरकारले रु दुई करोड ५० लाखमा किनेर सङ्ग्रहालय बनाउन लागेको हो । मोहियानी हक भने नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण भएपछि अहिले प्रतिष्ठानले कविकुञ्जको पुनःनिर्माणसँगै देवकोटा सङ्ग्रहालय बनाउन शुरु गरेको हो । यसको लागत रु सात करोड ११ लाखको छ ।

Comments Box