लुम्बिनीका मुख्यमन्त्रीले मध्यराति दाङ सारे मन्त्रालय

राति १२:४० मा दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सार्न सकेको फेसबुकमा लेखेका छन्



लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ।

 

अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो।

 

मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्।

 

कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ ल्याइएका छन्।

 

दाङको राप्ती गाउँपालिका वडा नं. ३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वति माविमा सारिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय, आवास गृह र मुख्य सचिवको कार्यालय निर्माण कार्य भएको थियो ।

 

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आगामी आइतबारदेखि मुख्यमन्त्रीको कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ । बुटवल स्थित अस्थायी मुकाम बन्द गरिएको छ । यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको छ ।

 

मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड गरी दाङ 
पुर्‍याइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले राति १२:४० 
मा दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सार्न सकेको फेसबुकमा लेखेका छन् ।

 

आज (मंगलबार) बिहान ११ बजेतिर राजधानी व्यवस्थापन मुल समितिको बैठक बस्दैछ । त्यही बैठकले के–के गर्ने भन्ने छलफल हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । साथै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई भालुवाङमै सफत खुवाउने समेत तयारी गरिएको छ । प्रदेशसभा भवन समेत निर्माणको अन्तिम चरणमा छ ।

 

२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती  गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको सितगंगा  नगरपालिका वडा नं. ८ र ९  लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको  थियो ।

 

२०५० सालमा स्थापना भएको राप्ती गाउँपालिका वडा नं. ५ स्थित राप्ती प्राबिधिक  शिक्षालय १६  विघा क्षेत्रफलमा  फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । त्यहाँ साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

Comments Box