पोखराको हरित यातायात प्रणाली विकास परियोजनामा कोरियाले सहयोग गर्ने

पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप, ३ स्थानमा बस टर्मिनल



पोखराको हरित यातायात प्रणाली विकास परियोजनाका विषयमा कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिका बिच छलफल तथा अन्तरक्रिया गरिएको छ । उक्त छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने बताएको छ ।

 

 

पाँच दिनसम्म पोखरामा रहेको टोली पोखराको सार्वजनिक यातायात र यसको रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन समेत गरिसकेको छ । टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।

 

 

यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले बताए । पोखराको मुख्य चोक पृथ्वी चोकलाई थप विस्तार समेत गरिने छ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिने छ । यस्तै दोस्रो चरण सन २०३० सम्म हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरण सन २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ ।

 

विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने किमले विश्वास दिलाए । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने छ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।

 

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।

 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुने बताए ।

 

यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।


११ श्रावण २०७८, सोमबार

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो ।

 

 

कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत रु ५० लाख विनियोजन गरेसँगै सिर्जनाचोकमा आकाशे पुल निर्माणकार्य शुरु गरिएको थियो ।

 

 

महानगरपालिकाको रु दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको सो आकाशे पुल पहिलो भएको जनाउँदै उहाँले भन्नुभयो, “पुलको रङरोगन र सिसाको छानो राख्नेबाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको हो ।”

 

इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्फबाट ओर्लन मिल्छ । आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमीनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निर्माणकार्य ढिला भई एक वर्षपछि सम्पन्न भएको हो ।

 

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार सबैको चासो र चर्चामा रहेको उक्त आकाशे पुलमा दिनभरी पैदलयात्रु एवं साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ । पोखरा–बगलुङ सडकको प्रवेशद्वारका रुपमा रहेको उक्त आकाशे पुलमा विशेष गरी साँझपख दृष्यावलोकन एवं सेल्फि खिच्नेको भिड देखिने गरेको उहाँको भनाइ छ ।

 

उक्त पुलमा यतिखेर नेपालकै पर्यटकीय राजधानी पोखराका मुख्य बजारका चोकमा दिनानुदिन जनसङ्ख्यासँगै सवारीसाधनको चापका कारण व्यस्त पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्बैंकचोक, अमरसिहंचोक, सभागृहचोकलगायतका विभिन्न स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अम्रित बस्नेतका अनुसार पोखराका मुख्यचोकमा आकाशे पुल निर्माणले सवारी दुर्घटनामा केही हदसम्म भए पनि कमी हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments Box