१२ सय लिटर तेलसहित चार जना पक्राउ



काठमाडौं, १३ असार: बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ ।

 

तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर–१ का २२ वर्षीय सञ्जय महतो छन् ।

 

 

उनीहरुले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका हुन् । तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

 

करिब ३ लाखको पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो । बारा प्रहरीले भ्यान, बरामद समान तथा चार जनालाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार पठाउने तयारी गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी गराए । नेपालमा भन्दा भारतमा पाम तेल सस्तो भएपछि तस्करी सुरु भएको छ ।


घ्यू निर्यात

नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ ।

 

 

आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको बताइएको छ ।

 

एक पटकमा सातदेखि आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ । घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ । त्यस्तै आयोजनाले छ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्पmत आव २०७७/७८ मा ५८ लाख लिटर दुग्ध खरिद गरी रु ३२ करोड भुक्तानी गरेको जनाएको छ । त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौँडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ । उक्त आयोजनाअन्तर्गत सातवटा दुग्ध चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र स्रिम्रोेनगढमा रहेको छ ।

 

 

 

 

यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ । औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ । आयोजनाबाट दही, पनिर, घ्यू, मख्खन, फ्रेसमिल्क, लालमोहन र रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा तथा खुवालगायतका दुग्ध पदार्थ उत्पादन भई बिक्री हुने गरेको छ । आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको बताइएको छ ।

 

आयोजनाको प्रतिदिन ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको र त्यहाँ दही उत्पादन क्षमता प्रतिदिन तीन हजार लिटर तथा घ्यू, मख्खन र पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन रहेको छ । त्यस्तै फ्रेसमिल्क एक हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्र्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्याङ्कमा जनाइएको छ । एक सय १७ कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीनवटा डिस्ट्रिब्युटर, २८ डिलर र १९७ बिक्री बुथ रहेको छ ।

 

हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ । वाग्मती प्रदेश दुग्ध विकास वार्डको साझदारीमा उक्त स्टोर निर्माण गरिएको हो ।

Comments Box