त्रिचन्द्र पुनर्निर्माण गर्न ५० करोड

‘रातो स्टिकर’ टाँसिएको भवनको जीर्णोद्धार कार्य सरकारी प्राथमिकतमा परेन



विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । उतिखेर प्रधानमन्त्री चन्द्रशमशेर थिए । उनैले कलेजको भवन निर्माण गराएका थिए ।

 

ढुंगा, इँटा, चुना, सुर्की, काठ, फलाम जस्ता सामग्री प्रयोग गरेर निर्माण गरिएको भवन सम्पन्न गर्न १४ महिना लागेको थियो । राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरेका थिए ।

 

तत्कालीन राजा महेन्द्र यही क्याम्पस पढेका थिए । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यही क्याम्पसका विद्यार्थी हुन् । यही क्याम्पसले बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो ।

 

२०७२ को भूकम्पले क्षति पुगेपछि तीनतले पुरातात्विक भवन झन् जीर्ण भयो तर ‘रातो स्टिकर’ टाँसिएको भवनको जीर्णोद्धार कार्य सरकारी प्राथमिकतमा परेन ।

 

वि सं १९८१ मा उक्त नाम संशोधन गरी त्रिचन्द्र कलेज राखिएको थियो । अहिले त्रिचन्द्र बहुमुखी क्याम्पस भनिन्छ । बोलीचालीमा त्रिचन्द्र कलेज भनेर चिनिन्छ । कलेज स्थापना हुँदा सुरुमा पाँच जना विद्यार्थी भर्ना भएका थिए । अहिले करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । यद्यपि कुनै बेला विद्यार्थी संख्या १३ हजारसम्म पुगेको थियो । यो संख्या घट्ने क्रम जारी छ ।


त्रिचन्द्र पुनर्निर्माण गर्न ५० करोड

सरकारले आफ्नै लगानीमा त्रिचन्द्र बहुमुखी क्याम्पस पुननिर्माण गर्नेर् भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार सरकारकै खर्चमा पुनर्निर्माण गर्ने निर्णय भएको हो । पहिलो चरणमा ५० करोड रुपैयाँ बजेट छुट्टाउने उनले बताए ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले गत आइतबार क्याम्पस पुनर्निर्माणको विषयमा शिक्षामन्त्रीसहित सरोकारवालासँग छलफल गरेका थिए । छलफलपछि क्याम्पस पुनर्निर्माणका लागि ५०–७० करोड रुपैयाँ बजेट तत्काल छुट्याउने निष्कर्ष निकालिएको मन्त्री पौडेलले बताए ।

 

२०७२ को भूकम्पले क्षति पुगेको क्याम्पस भारतीय एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण हुने सूचीमा छ । तर, सरकारले नै निर्माण गर्ने भएपछि त्रिचन्द्रलाई उक्त सूचीबाट हटाइने उनले जनाए । प्राधिकरण खारेजीसँगै पुनर्निर्माणको बाँकी काम सम्बन्धित मन्त्रालयले नै सम्हालेको छ । त्रिचन्द्र पुनर्निर्माणको काम शिक्षा इकाइअन्तर्गत नै गर्ने गरी छलफल चलेको मन्त्रालयले जनाएको छ ।

 

आउँदो साता नै टेन्डर प्रक्रियामा जाने गरी काम थाल्न प्रधानमन्त्रीले निर्देशन दिएको क्याम्पस प्रमुख सुनील अधिकारीले बताए । त्रिचन्द्रको १०५ वर्षे पुरानो भवन जगैदेखि पुरानै शैलीमा नयाँ बनाउने सहमति भएको उनले जनाए ।

 

एक्जिम बैंकअन्तर्गत त्रिचन्द्र पुनर्निर्माण गर्न २ अर्ब लगानी प्रस्ताव गरिएको छ । त्यसका लागि डीपीआरको काम भइरहेको छ । बैंकअन्तर्गत काम थाल्न अझै ६ महिना लाग्ने भएपछि सरकारले नै पुनर्निर्माण गर्न अग्रसरता देखाएको अधिकारीले बताए ।

 

घण्टाघरपट्टि १३ रोपनी र रानीपोखरी क्षेत्रमा २३ रोपनी जग्गामा त्रिचन्द्र क्याम्पस छ ।

 

त्रिचन्द्रसँगै रहेको घण्टाघरलाई पनि स्वचालित प्रविधिबाट चलाउने निर्णय भएको छ । अहिले घण्टीलाई दम दिन कर्मचारी नै घटाउनुपर्ने अवस्था छ ।

Comments Box