युरियाको झोल मल प्रयोगमा अनुमति



रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी  सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव ले भने, ‘दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने यस्तो मल अब सरकारी तथा निजी कम्पनीले आयात गरेर बिक्री गर्न पाउने गरी अनुमति दिइएको छ। मल अभाव झेलिरहेका किसानका लागि यो मल निकै प्रभावकारी छ ।’

 

युरियाको झोल मल ल्याउने अनुमति पाएसँगै नेपालमा आयात अनुमति पाउने रासायनिक मलको संख्या ५३ पुगेको छ । यस्तो अनुमति सम्बन्धी कानुन राजपत्रमा प्रकाशनका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

 

 

बिरुवा बढेपछि सानो क्षेत्रमा पम्प वा स्प्रेबाट र ठूलो क्षेत्रमा ड्रोनबाटसमेत यस्तो मल छर्न सकिने मन्त्रालयले जनाएको छ । एक बोरा दाना युरिया बराबर हुने आधा लिटरको झोल मल एक बट्टालाई २५० भारतीय रुपैयाँ पर्ने भएकाले झोल मल सस्तो र समयको हिसाबले किफायती पनि रहेको मन्त्रालयको भनाइ छ । एक बोरा दाना युरिया मललाई अहिले ७५० रुपैयाँ पर्छ । भारतमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका थिए ।  तर कानुन अभावमा सरकारले अनुमति दिएको थिएन ।

 

 

बङ्गलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्यो

१७ असार २०७८: बङ्गलादेशबाट खरीद गरिएको  नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।

जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रवन्धक गोरखनाथ केसीले बताउनुभयो । उहाँका अनुसार बङ्गलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिकटन बाहेक थप दुई हजार मेट्रिकटन युरिया मल नेपाल आउने भएका छन् ।

 

यसवर्ष धान रोप्ने समयमा मलको अभाव नहुने उहाँको भनाइ छ । सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाई भएको प्रवन्धक केसीले बताउनुभयो । सम्झौता अनुसारको बाँकी पाँच र थप दुई गरी कूल सात हजार मेट्रिकटन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुग्ने बताइएको छ ।

 

नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन (जिटुजी)मार्फत खरीद गरेर बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो । अघिल्लो वर्षसम्म मलको अभाव खेपीरहेका किसान यो वर्ष समयमै मल पाउँदा खुशी भएका छन् । केही दिन यता मनसुन सक्रिय भई पानी परेकाले पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

 

समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेशप्रसाद चौरसियाले बताउनुभयो । पर्सामा कूल ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल एक हजार ७ सय मेट्रिकटन, डिएपी ७६० मेट्रिकटन र पोटास ८२० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।

 

पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत् सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेको छ । कतिपय विक्रेताले किसानसंग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने मांग किसानको छ । पर्सामा ९० प्रतिशत किसान व्यवसायिक रुपमा धान खेती गर्दै आएका छन्

Comments Box