कालीगण्डकीमा जलयात्रा सञ्चालन



पुस २० गते । म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) संचालन गरिएको छ ।  जलयात्राको राम्रो संभावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको संगम स्थलसम्म जलयात्रा सञ्चालन गरेको हो ।

 

पर्यटकको चाहना अनुसार नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिने  सञ्चालकले जनाएका छन् ।  म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर बेनीको कालिपुल स्थित गण्डकी होटल सँगको सहकार्यमा कालिगण्डकीमा जलयात्रा संचालन गरेको स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले बताउनुभयो ।

 

कालिगण्डकी नदीमा जलयात्राको संभावना देखेर आएका छौं गाइड पुनले भन्नुभयो, ‘‘गलेश्वर देखि बेनी, पर्वतको मालढुङ्गा, नयाँ पुल हुँदै मिर्मीसम्म जलयात्राको रमाइलो यात्रा गर्न सकिन्छ ।’’ कालिगण्डकी नदीमा राम्रो संभावना भएकाले बैशाख महिनासम्म जलयात्रालाई निरन्तरता दिने उहाँले बताउनुभयो । पर्वतको नयाँ पुलमा पर्यटकलाई विगत १४ वर्ष देखि जलयात्रा गराउँदै  आउनुभएका पुनले बेनीमा पनि जलयात्राको राम्रो संभावना देखेको सुनाउनुभयो ।

 

गलेश्वरदेखि सुरुभई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको संभावनालाई उजागर गर्न कालिगण्डकीमा जलयात्रा संचालन गरिएको पुनले बताउनुभयो । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी गलेश्वरदेखि बेनीको दोभानसम्म तिन किलोमिटरको जलयात्राका लागि एकहजार दुई सय रुपियाँ भाडा तोकिएको छ ।

 

बेनीदेखि मालढुङा, नयाँ पुल हुँदै मिर्मी सम्म पनि पर्यटकले चाहेमा लैजान सकिने गाइड सन्तोष गिरीले बताउनुभयो । बेनी देखि मिर्मी पुग्न तिनदिन जलयात्रा गर्नुपर्दछ । पुस २८ गते देखि बेनीमा हुने सातौं म्याग्दी महोत्सवलाई लक्षित गरेर आफ्नो कम्पनीले बेनीमा जलयात्रा सञ्चालन गरेको उहाँले बताउनुभयो । महोत्वस पछि पनि जलयात्रालाई निरन्तरता दिने योजना सुनाउनुभयो ।

 

गलेश्वर देखि म्याग्दी र कालिगण्डकीको संगमस्थल सम्म पानीको बहाव राम्रो भएकाले जलयात्राको मज्जा लिन सकिने गाइड पुनले बताउनुभयो । जलयात्राले  जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउने गण्डकी होटलका सञ्चालक गम पुनले बताउनुभयो ।

Comments Box