निवर्तमान मुख्यमन्त्रीको ‘आभार पत्र’



गण्डकि प्रदेश का निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आभार प्रकट गरेका छन।

 

 

विधि र कानुन लाई मान्नुपर्छ भनेर उदाहरणिय रुपमा सत्ता हन्तारन्तण भैई वर्तमान मुख्यमन्त्री कृष्ण च्नद्र नेपालिले विस्वासको मत लिए लगत्तै निवर्तमान मुख्यमन्त्री गुरुङको आभार पत्र सार्वजनिक भएको हो।

 

 

उत्त आभार पत्रको पुर्ण पाठ:

………………………………………………………………………………………………………………

आदरणीय गण्डकी प्रदेशका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु,

 

तपाईंहरुको सहयोग र समर्थनमा म यो प्रदेशको प्रथम मुख्यमन्त्रीका रुपमा तपाईंहरुको सेवा गर्ने अवसर पाएँ । तपाईंहरुका अपेक्षा र आशा अनि विश्वासकै भरमा मैले आफ्नो कार्यकाल बिताएँ ।

 

कार्यकालभरि मेरो अर्जुनदृष्टि गण्डकी प्रदेश र जनताको हितबाहेक केही भएन । तर, त्यसको मूल्यांकनको अभिभारा तपाईंहरुकै हो । आफ्नो जन्मभूमि माटोको कसम खाएर भन्छु, ‘मैले आफ्नो क्षमताले भ्याएसम्म प्रदेशका लागि योगदान गर्न एक निमेष पनि खेर जान दिइनँ । आफ्नो कार्यकालभरि मैले संघीयता, गण्डकी प्रदेश र यो प्रदेशका मेरा प्यारा जनसमुदायका हितमा काम गर्दागर्दै गण्डकी प्रदेश सभामा निर्मित अराजनीतिक गठबन्धनका कारण गण्डकी प्रदेश सरकारको नेतृत्वबाट विस्थापन गराइएँ । २०७४ फागुन ४ देखि २०७८ जेठ २९ सम्मको मुख्यमन्त्रीका हैसियतमा रहे र काम गर्ने अवसरका लागिआदरणीय जनसमुदायप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

 

आज मुलुकमा संघीयता संस्थागत हुने दिशामा छ । लोकतान्त्रिक संघीय गणतन्त्रलाई हामीले बलियो बनाउँदै लगेका छौं । २०७४ साल मंसिर १० गतेको प्रदेश सभा निर्वाचनमार्फत लमजुङ (ख) बाट आदरणीय मतदाताले मलाई निर्वाचित गराएपछि म त्यहीं कर्तव्यपथमा हिँडे, जुन यहाँहरुले सुम्पिनुभएको थियो । मुलुकमा संघीयताको जग बलियो बनाउनु र यसलाई संस्थागत गर्नु, जनतालाई थप अधिकार सम्पन्न बनाउनु, जनताले सरकार नजिकै छ भनेर अनुभूत गर्न पाउने वातावरण बनाउनु जस्ता जिम्मेवारी हाम्रो काँधमा थिए ।

 

यस मामलामा हामीले एउटा सफलता पाएका छौं भन्ने मेरो विश्वास छ । यो उपलब्धि प्राप्तिको सफलताको कारण म होइन, तपाईं आदरणीय जनसमुदाय नै हो, जसले मलाई त्यस उद्देश्यका लागि नेतृत्वको भूमिका दिनुभयो । बधाईका वास्तविक हकदार तपाईंहरु नै हुनुहुन्छ, म निमित्त मात्रै हुँ भन्ने ठानेको छु ।

 

आज मुख्यमन्त्रीबाट विदाई भइरहँदा मैले फेरि पनि सबैभन्दा पहिला तपाईं आदरणीय गण्डकी प्रदेशबासी बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरुलाई नै सबैभन्दा धेरै आभार प्रकट गर्दछु । आदरणीय जनसमुदायले मलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न साथ, सहयोग, समर्थन र योगदान गर्ने मेरो पार्टी नेकपा एमाले, मेरो मन्त्रिपरिषदका सदस्य मन्त्रीज्यूहरु, गण्डकी प्रदेश सभामा हाम्रो पार्टीका माननीय सदस्यहरुज्यूहरु, प्रदेश सभाका अन्य दलका माननीय सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, उद्यमी, व्यवसायी, नागरिक समाज, बौद्धिक व्यक्तित्वहरु सबैसबैप्रति आभारी छु, जसले आआफ्नो ठाउँबाट सघाउनुभयो ।

 

आज गण्डकी प्रदेशले जुन उचाइ हाँसिल गरेको छ, संघीयता जनताका निम्ति सहज, सुलभ र नजिकको शासन प्रणाली हो भनेर विश्वास आर्जन भएको छ, त्यो सबै यहाँहरुकै साथ, समर्थन र सहयोगबाट सम्भव भएको हो । कार्यालय, जनशक्ति, कानुन केही नभएको शून्य अवस्थाबाट सुरु गरेर प्रदेशलाई आज जुन अवस्थामा तपाईं हामीले पाएका छौं, यहाँ ल्याइपु¥याउन, थिति बसाल्न हामी सफल भएका छौं भन्ने मेरो विश्वास हो । फेरि पनि मूल्यांकनको अभिभारा त आदरणीय जनसमुदाय कै काँधमा सुम्पन्छु ।

 

सरकारको नेतृत्वमा हुँदा र नहुँदा मेरो निष्ठा, आदर्श र अठोटमा कुनै फेरबदल भएको छैन । मेरो मूल जिम्मेवारी मुख्यमन्त्री भएर प्रदेशको नेतृत्व गर्नु थिएन, मूल जिम्मेवारी त जनताको सेवा नै हो । त्यसैले मुख्यमन्त्रीबाट विदाइ हुँदा पनि त्यो जिम्मेवारीबाट म बिचलित छैन, हुने छैन ।

 

यसबीचमा धेरै अनुभव र ज्ञान आर्जन गर्न मलाई शिक्षा प्रदान गर्ने रचनात्मक व्यवहार जसजसबाट भएको छ, त्यो मेरो जीवनको ठूलो सम्पति हो । यो आर्जनलाई म फेरि जनसमुदाय कै हितमा समर्पित गर्नेछु । आफ्नो विचार, निष्ठा र आदर्शकै बाटोमा हिँडिरहने छु भन्ने प्रतिबद्धतासहित सबै सबैलाई आभार प्रकट गर्दछु ।

 

धन्यवाद ।

………………………………………………………………………………………………………………

 

 

 

Comments Box