गण्डकी प्रदेश सभामा एमाले : यी हुन् समानुपातिक सांसद (सूचीसहित)

गण्डकीमा १० सांसद चयन



नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।

 

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

 

उनका अनुसार गण्डकीमा १० सांसद चयन भएका छन्।

 

हेर्नुहोस् सूची –

यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, लिलाबहादुर थापा, नन्दकला दमाई र गोविन्दबहादुर नेपाली ।


१३ कार्तिक २०७९, आईतवार

एमाले गण्डकीको प्रतिबद्धता पत्र सार्वजनिक

नेकपा एमाले गण्डकी प्रदेशले मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि आइतबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार’ नाराका साथ एमाले गण्डकीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हो । प्रतिबद्धता पत्रमा एमाले सरकारले ३ वर्ष सरकार सञ्चालन गर्दा गरेका कामलाई पनि समेटेको छ ।

 

प्रतिबद्धता पत्रमा आईटी हबदेखि सुरुङ निर्माणको योजना समेटिएको छ । यस्तै प्रदेश सरकारले घोषणा गरेको स्याटलाइट सिटीहरूमा गुणस्तरीय सडक तथा खानेपानी पूर्वाधार, प्राविधिक शिक्षालय र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता गरेको छ । कमिटीले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा पालिका केन्द्र, मुख्य सहरहरूको सिटी सेन्टर, सार्वजनिक सेवा प्रवाह हुने ठाउँहरू, अस्पताल तथा मुख्य पर्यटकीय गन्तव्यहरूमा वाईफाई हट–स्पटको व्यवस्था गरिने उल्लेख छ । ‘पोखरालाई आईटी हबको रूपमा विकास गर्न पोखरामा सूचना तथा प्रविधि पार्क स्थापना र सञ्चालन गर्दै गण्डकी प्रदेशको सूचनाको हकसम्बन्धी ऐन पूर्ण रूपमा कार्यान्वयन गरिने छ,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।

 

आगामी ५ वर्षमा एमालेले सरकार बनाए विकास र समृद्धिलाई प्राथमिकता दिएको छ । पत्रमा युवा मतदातालाई केन्द्रित गरेर ‘पढाइ कमाइ र दबाइ’सँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम दिने जनाएको छ । जसमा ५ हजार गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सँगै निःशुल्क प्राविधिक शिक्षासँग जोडिने समेटिएको छ ।

 

प्रिन्ट र डिजिटल दुवै कपी  रहने प्रादेशिक पुस्तकालयको  रूपमा “गण्डकी प्रदेश पुस्तकालय“ स्थापना र सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।  ‘स्थानीय तहसँगको सहकार्यमा प्रदेशमा स्थापना भएका सामुदायिक पुस्तकालयहरूलाई गण्डकी प्रदेश पुस्तकालय व्यवस्थित गरी प्रदेशको घाटु, सोरठी, भजन, सारङ्गी बाजा, पञ्चेबाजा जस्ता परम्परागत संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरिने छ,’ प्रतिबद्धता पत्रमा छ ।

 

राजस्व सङ्कलन र स्रोत व्यवस्थापनमा आत्मनिर्भर प्रदेश निर्माण गर्ने प्रतिबद्धता गरिएको छ । जलविद्युत, पर्वतारोहण, वन, पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी प्रदेश तथा स्थानीय तहलाई समुचित वितरण गर्न संघीय सरकारसँग समन्वय गर्ने जनाएको छ । राजस्व सङ्कलन गर्न अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रबाट प्राप्त हुने पर्यटन राजस्वको २५ प्रतिशत सम्बन्धित पालिकाहरूलाई र २५ प्रतिशत प्रदेश सरकारलाई प्राप्त हुने व्यवस्था मिलाउने जनाएको हो । प्रतिबद्धता पत्रमा पर्यटन विकास प्रदेश समृद्धिको आधार नाराका साथ अगाडी बढाइने उल्लेख छ । जसमा प्रदेशका सबै मुख्य पर्यटकीय गन्तव्यमा र होमस्टे भएका गाउँहरूमा पुग्न पूर्वाधारहरूको विकाससँगै रोजगारी वृद्धि गर्न लमजुङको घलेगाउँ र राइनास, गोरखाको भच्चेक–सिरानडाँडा, तनहुँको वन्दीपुर र मान्हुँकोट, कास्कीको अस्ताम–धम्पुस, बेनासकोट,भीरचोक,स्यक्लुङकोट पर्वतको भुक र लेस्पार, बाग्लुङको भकुण्डे आदिलाई प्रदेशका हिल स्टेशनको रूपमा विकास जनाएको हो । अपाङ्गहरूलाई उपयुक्त पर्यटकीय गन्तव्यको पहिचान गर्ने उल्लेख छ ।

 

प्रदेशमा रहेका ५ हजार पर्यटकीय होटल, रेस्टुराँ तथा होमस्टे र कृषक तथा कृषि फार्महरूको डिजिटलाइजेसन एवं सञ्जालिकरण गरी प्रदेशमा उत्पादित कृषि वस्तुको बजारीकरण तथा प्रवर्द्धन गरिने प्रतिबद्धता गरिएको छ । एमाले नेतृत्वमा सरकार गठन भए प्रदेश सरकार आफैँले एक पालिका, एक नमुना हरित गृह स्थापना गरिने जनाएको छ । ‘व्यावसायिक उत्पादनको ठुलो सम्भावना बोकेका मुख्य ५ फलफूल तथा ५ बालीको विस्तार र बजारीकरणलाई तीव्रता दिइनेछ । मुस्ताङ, मनाङ र गोरखा, बाग्लुङ, म्याग्दी, स्याङ्जा लमजुङका उत्तरी भूभागहरूमा स्याउ र सुन्तला खेती विस्तार गरिने छ । पाँच वर्षमा स्याउ र सुन्तलाको उत्पादन दोब्बर हुने गरी कार्यक्रम ल्याइनेछ,’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।

 

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले सुरु गरेको स्थानीय तह केन्द्र र वडा केन्द्र जोड्ने सडकहरूलाई स्तरोन्नति  गर्न स्थानीय तहलाई सहयोग गरिने उल्लेख छ । जसमा मुख्य राजमार्ग तथा स्थानीय सडकको दूरी उल्लेख्य मात्रामा छोट्याउने भनिएको छ । योसँगै हाल बन्द भएको कोराला नाका खुलाउन पहल गर्नेसाथै कोराला र त्रिवेणी नाका लाई व्यवस्थित बनाउन र उक्त स्थानको सहरीकरणमा जोड दिइने जनाइएको छ ।

 

पोखरामा विद्युतीय सवारी साधन सञ्चालन गर्ने समेटिएको छ । यसका लागि चार्जिङ स्टेशन र राजमार्गमा विश्रामस्थल निर्धारण गर्ने उल्लेख छ । स्वास्थ्यतर्फ विशिष्टीकृत अस्पताल निर्माणदेखि निःशुल्क सेवा दिइने उल्लेख छ । ‘५०० शय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मिर्गौला तथा क्यान्सर उपचारको लागि ५०–५० शय्याको विशिष्टीकृत अस्पताल निर्माण गरिने छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई कम्तीमा ५० शय्याको सुविधा सम्पन्न अस्पताल भवन बनाइने छ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘प्राथमिक स्वस्थ केन्द्र तथा प्रादेशिक अस्पतालहरूमा १००० डाक्टर, १००० नर्स र १००० जनस्वास्थ्य अधिकृत लगायतका जनशक्ति व्यवस्थापन गरी नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने छ ।’

Comments Box