वर्षका उत्कृष्ट सात नगरपालिका; तिलोत्तमा र वालिङ लगातार उत्कृष्ट



 

नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।

 

संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएको थियो । सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा निलकण्ठ नगरपालिका उत्कृष्ट ठहर भएको छ । यसैगरी वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो । स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ । हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ । सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।

 


उत्कृष्ट बन्न सफल तिलोत्तमा नगरपालिका

११ चैत्र २०७७: आर्थिक वर्ष २०७६/७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै तिलोत्तमा नगरपालिकालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो ।

 

तिलोत्तमासँगै संघले आर्थिक तथा राजस्व प्रशासनतर्फ कन्काई नगरपालिका र शहरी योजना तथा वातावरण व्यवस्थापन तर्फ वालिङ नगरपालिका लाई पुरस्कृत गरेको छ । शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो।

 

नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित  समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नुभएको हो।

 

यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका सङ्घको २३ औँ स्थापना दिवसका अवसरमा देशभरका २१७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई रु एक लाखको पुरस्कार प्राप्त गरेको थियो। नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, शहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापनलगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो। यसअघि सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकामध्ये सर्वोत्कृष्ट सफा नगरको रुपमा वालिङलाई पुरस्कृत गरेको थियो।

–––

Comments Box