मनाङमा विधुत जडानकाे लागि त्याे अथाह प्रयास



विकास निर्माण देखि प्रविधी सम्ममा विश्वले निकै फड्को मारिसकेको छ । छन् नेटवोर्क तर्फ विश्व अनि हाम्रो देशले समेत गृहकार्य गर्न थालिसकेको छ । तर, हाम्रै देशको केही जनताहरुको लागि घर घरमा विजुली पुग्नु र बत्ति बल्नु सपना जस्तै छ ।

 

 

पटक पटक भौगोलिक अवस्थालाई नै दोषारोपण लगाइँदै नेपाल विद्युत प्राधिकरणले हिमाली जिल्ला मनाङमा विजुली पुर्याउन नसकिएको बताउँदै आइरहेको थियो । अहिले मनाङमा लामो समयको अथाह प्रयास पछी बल्ल जनताहरुको घरमा बत्ति बाल्न थालेको छ । फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो। मनाङमा विद्युत् प्रशारण लाइन जडानको लागि त्यहाँ जनप्रतिनिधि साथै प्रतिनिधि सांसद माननीय पाल्देन छोपाङ गुरुङले लामो समयदेखि जुझारु भएर लागी पर्नु भएको थियो ।

 

केन्द्रिय वितरण केन्द्र देखि प्रादेशिक वितरण केन्द्रहरुमा समय समयमा गएर मनाङमा विद्युुत लाइन जडानको लागि निरन्तर रुपमा पहल गर्नु भएको थियो । साथै, उहाँले त्यहाँ गएर विद्युत जडानमा रोकावटका कारणहरु समेत खोतल्ने प्रयास नभएको होइन ।

 

 

कर्मचारी अभाव अनि भौगोलिक कारण देखाउँदै आएको प्रादेशिक कार्यालयमा सुनुवाई नहुने देखिएपछी गुरुङ् केन्द्र सम्म गई निरन्तर घर घरमा विजुली बत्ति पुराउनकै लागि प्रयासरत रहनु भयो ।

 

विद्युत जडानमा खटिएका कर्मचारीहरुको सहजताको लागि समेत सहयोग गर्ने प्रतिबद्दताको साथ काम अगाडस् बढाउन आग्रह गर्नुभयो । ठेकेदार कमपनीको बद्मासी देखि कर्मचारीको अल्छीपन सम्मले मनाङको बिजुली बत्ती बाल्ने सपना सपनामै सिमित गरेको अवस्था थियो ।

 

तर, आज त्यो सपनाले पूर्णता पाएको छ । मनाङको जिल्ला कार्यालयले ३३ केभीको लाइन उपलब्ध गराउने योजना गर्नुका साथै अब विद्युत् लाइन अवरुद्ध नहुने विश्वास लिएको छ । यो केन्द्रीय प्रशारण लाइन लमजुङको उदीपुर सब–इस्टेसनबाट राँधी हाइड्रोसँग जोडी मनाङको चामे गाउँपालिका–१ स्यार्कुको सबस्टेसनमा जोडिएको हो। यस केन्द्रले जिल्ला सदरमुकामसम्म प्रशारण लाइन जडान गरिसकेको छ भने माथिल्लो मनाङ, खाङ्सार, तिलिचो बेसक्याम्प र थारोङ्ला हाइक्याम्पसम्म पोल गाड्ने काम पूरा भएको छ । वितरण केन्द्रका अनुसार यो वर्ष जिल्लाका अन्य भागमा समेत विद्युत् प्रशारण गरिने छ ।

 


१८ फाल्गुन २०७७, मंगलवार

मनाङमा पहिलोपटक केन्द्रीय प्रशारण लाइन: भोल्टेज तलमाथि नहुने

मनाङ(रासस)- हिमालपारिको जिल्ला पुगेको छ। यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो। यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो।

 

केन्द्रीय प्रशारण जडानपछि आफ्नो कम्पनीबाट  उत्पादन हुँदै आएका स्याउ भण्डारणदेखि बेमौसममा उपायोग गर्नका लागि भएका उपकरण सञ्चालनमा आउने र उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेमा मनाङ एग्रो प्रालिका सञ्चालक समराज गुरुङ विश्वस्त हुनुहुन्छ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो। सीमित जनशक्ति, भौगालिक विकटता अत्यधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटकपटकको प्रयासपछि भारतबाट फाइवर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको केन्द्रका प्रमुख सुवेदीले बताउनुभयो। उहाँका अनुसार जिल्लामा कार्यालय स्थापना भएको १८ महीनामा नै केन्द्रीय प्रसारण जडान जडान हुन सकेको छ।
दशकौँदेखि लघुजलविद्युत्को भरमा दैनिकी चलाउँदै आएका मनाङवासीले केन्द्रीय लाइनको विस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउनुहुन्छ। उहाँका अनुसार यो केन्द्रीय प्रशारण लाइन लमजुङको उदीपुर सब–इस्टेसनबाट राँधी हाइड्रोसँग जोडी मनाङको चामे गाउँपालिका–१ स्यार्कुको सबस्टेसनमा जोडिएको हो।

 

साबिकको लघु जलविद्युत्को भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय मात्र होइन, उद्योगी व्यापारी समेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन्। लघु जलविद्युत्का कारण सरकारी कार्यालय, वित्तीय सङ्घसस्थाले दैनिक कामकाजमा हैरानी खेप्नु परेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताउनुभयो। अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ केभीको केन्द्रीय प्रशारण लाइन फलदायी हुने उहाँको भनाइ छ।
लघुजलविद्युत्मा मागअनुसार विद्युतीय प्रवाह हुन नसक्दा आवश्यक उपकरणको प्रयोग गर्न कठिन भएको मनाङ एग्रो प्रालिका सञ्चालक समराज गुरुङले बताउनुभयो। उहाँ अब केन्द्रीय प्रशारण जडानपछि आफ्नो उद्योग सञ्चालनमा आउने उहाँको भनाइ छ।

 

उहाँका अनुसार यस कम्पनीबाट उत्पादन हँुदै आएका स्याउ भण्डारणदेखि बेमौसममा उपायोग गर्नका लागि भएका उपकरण सञ्चालनमा आउन सकेका थिएनन्। अब यस उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ।

 

यस्तै पर्यटन व्यवसायीले समेत आवश्यक मात्रामा विद्युत् आपूर्ति नभएका कारण पर्यटकका सामान्य आवश्यकता समेत पूरा गर्न कठिन भएको अवस्थामा केन्द्रीय प्रशारण लाइन जोडिएसँगै अवका दिनमा सबै समस्याको समाधान हुने बताएका छन्। विद्युत्को लोर्ड नपुग्दा सामान्य कफी मेसिन समेत सञ्चालन गर्न नसकेर दाउराको भरमा काम चलाउनु परेको दुखेसो होटल व्यवसायीको थियो। ‘‘पर्यटक आउँछन् मोबाइल, ल्यापटप, क्यामेरा चार्ज गर्न खोज्छन्, सो अनुसारको सेवा दिन नसक्दा निकै समस्या थियो’’, चामेका होटल व्यवसायी सेती गुरुङ भन्नुहुन्छ, ‘‘केन्द्रीय प्रसाण लाइन जोडिएसँगै हिटर, कपडा धुने मेसिन, गिजरलगायतका विद्युतीय उपकरण सञ्चालनमा आएको छ। यसले पर्यटकलाई सेवा दिन सहज भएको छ।’’

 

अहिले नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले सदरमुकाम चामेमा धमाधम मिटर वितरणसँगै मिटर जडानको काम थालेको छ। सरकारी कार्यलय, अस्पताल, विद्यालय र गाउँपालिकाका कार्यालयलगायत औद्योगिक क्षेत्रमा मिटर जडान भइसकेको वितरण केन्द्रले जनाएको छ। हाल यस केन्द्रले जिल्ला सदरमुकामसम्म प्रशारण लाइन जडान गरिसकेको छ भने माथिल्लो मनाङ, खाङ्सार, तिलिचो बेसक्याम्प र थारोङ्ला हाइक्याम्पसम्म पोल गाड्ने काम पूरा भएको छ। वितरण केन्द्रका अनुसार यो वर्ष जिल्लाका अन्य भागमा समेत विद्युत् प्रशारण गरिने छ।

Comments Box