घरखर्च चलाउन दाउरा बेच्ने बालबालिकाले पाए शैक्षिक सामग्री



सिमकोट, ३० माघ (रासस)- हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाको चुकेडी गाउँमा रहेका दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार राजेन्द्र बानियाँले सहयोग गर्नुभएको छ। यही माघ २३ गते परेको हिमपातपछि माघ २४ गते कापी, कलमलगायत घरखर्च चलाउनका लागि बाक्लो हिउँमा दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका बालबालिकालाई पत्रकार बानियाँले आज सहयोग गर्नुभएको हो।

माघ २५ गते राष्ट्रिय समाचार समितिद्वारा “घरखर्च चलाउन दाउरा बेच्दै” शीर्षक समाचार र तस्वीर प्रकाशन भएपछि पत्रकार बानियाँले ती बालबालिकाको दुःख देखेर रु ३० हजार रासस समाचारदाता दाने बोहरालाई पठाउनुभएको थियो।  सो रकमबाट १, , ४ र ५ कक्षामा अध्ययनरत बालबालिकालाई एक वर्षका लागि पुग्ने १४ प्रकारका शैक्षिक सामग्री किनेर हस्तान्तरण गरिएको हो। बालबालिकालाई कापी, कलम, ज्यामिति बक्स, क्याल्कुलेटर, रङ, डटपेन, सिसाकलम, सामान्यज्ञानको पुस्तक, खेल सामग्री, झोला, जुत्ता, विद्यालय पोशाकलगायत सामान दिइएको हो।

हुम्ला उच्च हिमाली भएकाले त्यो दिन हिउँ बाक्लो परे पनि ती बालबालिकाले आफ्नो खर्च चलाउनका लागि दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका थिए। ती बालबालिकाका साथै  वडा नं ७ डाँडाफया गाउँका प्रायः सबै बालबालिका आफ्नो खर्च चलाउनका लागि सार्वजनिक बिदाको दिन र शनिबार दाउराको भारी बोकेर सिमकोट आउने गरेका छन्।

गाउँबाट सदरमुकाम सिमकोट पुगेका बालबालिकाले एक भारी दाउराको रु पाँच सयदेखि रु एक हजारसम्ममा बिक्री गरेर बेलुका घर फिर्ता हुने गर्छन्।  आफ्ना बालबालिकालाई शैक्षिक सामग्रीदेखि अन्य सहयोग गरेकामा अभिभावक पिउली सुनारले धन्यवाद दिनुभयो। सामग्री पाउँदा बालबालिकाले खुशी भई पत्रकार बानियाँलाई धन्यवादसमेत दिएका छन्।