कांग्रेस महामन्त्री थापालाई पुनः स्पष्टीकरण माग

अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको



कात्तिक ११ गते । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्य दृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको हो ।

 

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणमा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरुवा रोगको महामारी वा कुनै प्राकृतिक विपद् वा काबुबाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

 

तर परिच्छेद–४, राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उल्लेखित दफा ५ बमोजिमको व्यवस्था छैन । यदि डेंगी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्य तपाईँ आफैँले गर्न पाउने कानुनी व्यवस्था छैन नभएको आयोगले जनाएको छ ।

 

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानुनको खिलाफ हुनेगरी कुनै काम गर्छु भनी वक्तव्य दिनुहुँदैन भन्ने विषयको जानकारी तपाईँलाई छैन भनी आयोग विश्वस्त हुन सक्दैन– स्पष्टीकरण पत्रमा भनिएको छ ।

 

काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएको तपाईँले पुनः निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य गर्नुभएको देखिएकाले यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

 

स्पष्टीकरण पत्रमा भनिएको छ, निर्वाचनको सम्मुखमा तपाईँले अभियान चलाउँछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विपद् तथा महामारी आइपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरू ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईँ किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्न उद्यत हुनुभएको हो ?

 

आयोगले यसअघि नै दल तथा सम्बद्ध पक्षलाई ६० बुँदेसमेतका निर्देशन दिइसकेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा भनिएको छ ।

Comments Box